सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो ।
वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियरलाई आईजीपी बढुवाको निर्णय गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक अदालत जाने तयारी गरेका छन् ।
एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेको बताइन्छ ।
२०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् । वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ ।
कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाउनु भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।कोइरालाले वरियता मिचेर सरकारले गरेको निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी विबादमा ल्याएको ट्वीटमा उल्लेख गर्नुभएको छ ।