लुम्बिनीमा बजेट पास गर्न प्रदेश सरकार असफल

देश

बुटवल : मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ ।

सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्कार गरेको अनुमान गरिएको छ । लुम्बिनी प्रदेशसभामा हाल सत्ता पक्ष र विपक्षमा बराबर सांसद छन् । सहमतिका लागि सभामुख पूर्ण घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरे पनि एमालेका सांसदहरु सहभागी हुने अवस्था नदेखिएपछि दोस्रो बैठक नै नबसी शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.