भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

देश

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ ।असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिए । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन  र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ ।

दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *