सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते, मृतक ८ जनाकै पहिचान

खास खबर

सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको बताए ।  जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ । बाँके कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नं ३ मूलपानीमा आज बिहान साढे तीन बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका वडा नं ६ जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् ।

सो घटनामा गम्भीर घाइते कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *