सत्तारुढ गठबन्धनले एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको हो ।
माओवादी अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार उनले माधव नेपाललाई बिहीबार उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल आफ्नै समूहभित्रबाट पार्टी एकताको लागि दबाबमा परेका बेला प्रचण्डले सकेसम्म शुक्रबारसम्म निर्णय दिन आग्रह गरेका छन् ।
स्रोतले भन्यो, ‘एमाले फुटाएर आउनुस् भन्ने कुरा भएन । तर, उहाँलाई केपी ओलीले एमालेमा बस्न पनि दिँदैनन् भन्ने दुई नेताहरूको बुझाइ छ । तर माधव नेपाल समूहका केही नेताले एकताको दबाब दिइरहेकाले सरकारमा सहभागी हुनेबारे भोलिसम्म केही निर्णय दिनुस् भन्ने कुरा भएको छ ।’