काेराेना खाेप पहुँचवालाकाे कब्जामा, सर्वसाधारण मारमा

देश

स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।

विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा समेत खोप लगाउने लक्षित समूह किटानै गरेर सोही अनुसार गर्न गराउन निर्देशनदिएको छ । तर स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरुको रजाइँ भएपछि लक्षित समूह वञ्चित भएका छन् ।

अहिले खोप केन्द्रहरु पहुँच हुनेहरुले कब्जा गरेपछि दिनभर लाइन बसेर घर फर्किनु पर्ने बाध्यतामा सरकारले नै तोकेका लक्षित समूह छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ५२ वर्षीय बिरे सार्कीले कोरोनाविरुद्धको खोप लगाउनबुधबार र बिहीबार स्थानीय भृकुटी माध्यमिक विद्यालयमा गएपछि पालो नपाएपछि नलगाएरै फर्किनु परेको गुनासो गरे ।

‘हामीलाई लाइनमा बस्न भनियो, बिहानैदेखि घाम पानी नभनेर लाइन लागेँ,’ उनले भने, ‘तर हामीलाई उछिनेर सोर्सफोर्स लगाएर लक्षित समूहमा नपर्ने व्यक्तिहरुले खोप लगाए हामीले त्यो दृष्य हेरेर साँझपख फर्किनु पर्‍यो ।’

अहिले विभिन्न पार्टीका नेता कार्यकर्ताहरु कोरोनाविरुद्धको खोप लगाएको कार्ड सामाजिक सञ्जाल फेसबुकमा समेत अपलोड गर्न थालेको पाइन्छ । तर उनीहरु सरकारले तोकेअनुसारको लक्षित समूहमा पर्दैनन् ।

‘अहिले आज खोप लगायो भनेर सामाजिक सञ्जाल फेसबुकमा फोटो अपलोड गर्ने होडबाजी निकै बढेको छ,’ धनगढी उपमहानगरपालिका-३ का चक्र बमले भने, ‘त्यसमा अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुका आसेपासे बढी देखिएका छन् । सर्वसाधारणले खोप पाउन सकेका छैनन् । यस्तो विकृती कसले रोकिदिने । आफूखुसी गर्ने भए सरकारले मापदण्ड किन बनाएको हो ?’

कतिपय ठाउँमा पहिलो दिन १३ साउनमा सरकारले तोकेअनुसारको लक्षित समूहलाई खोप लगाइएको भएपनि दोस्रो दिनदेखि भने मापदण्ड मिच्ने क्रम बढेको जनगुनासो छ । ‘पहिलो दिन ५० वर्ष भन्दा कम उमेर समूहलाई खोप लगाउने व्यवस्था छैन भनेर खोप केन्द्रहरुले धेरै मानिसलाई फर्काएको थियो,’ धनगढी उपमहानगरपालिका-२ सागर परियार भन्छन्, ‘तर अहिले त मापदण्डको कुनै प्रवाह नै छैन । पहुँच हुनेले खोप पाउँछ । नहुने दिनभर लाइनमा उभिएर ४ बजेपटि घर फर्केर जान्छन् ।’

कतिपयले फर्जी कागजपत्र पेश गरेर समेत खोप लगाइरहेको गुनासो बढ्दो छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले सरकारले तोकेअनुसार लक्षित समूहलाई नै खोप लगाइरहेको दाबी गरे । तर व्यवहारिक रुपमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिका आफन्तले खोप लगाएको भए पनि त्यो संख्या निकै कम भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *