घरजग्गा तथा सम्पत्ति कर : २० करदाताबाट मात्रै करीव ७० करोड उठ्न बाँकी

आर्थिक

आफ्नो महनगर भित्र रहेका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ ।
घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको महानगरले करदाताहरु सम्पर्कमा नै नआएपछि माङकिङ सुरु गरेको काठमाडौं महानगरपालिकाका राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए ।


उनका अनुसार माइकिङ गर्दै तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी राजस्व असुली गर्न कानूनी उपाचार खोज्ने महानगरपालिकाको तयारी छ ।


राजस्व प्रमुख अधिकारीले भने,‘धेरै प्रयास गर्दा पनि करदाताहरु सम्पर्कमा नै नआएकाले बाध्य भएर माइकिङ गर्दै सुचना टास्दै हिनेका हौं ।,’ उनका अनुसार अहिलेसम्म नाम सार्वजनिक गरिएको २० करदातामध्ये ११ वडामा रहेको एन. आर. टी क्लव, १३ नम्वर वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज सम्पर्कमा आएको छ । अन्य बाँकीले सम्पर्कमा नै आएका छैनन् । २० करदाताबाट मात्रै करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्न बाँकी रहको महानगरपालिकाले जनाएको छ ।


राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधबार वडा ११ मा रहेको एन. आर. टी क्लव र युनाइटेड वल्ड सेन्टर, १२ वडामा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र १३ वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज, नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो ।


महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ मा रहेको आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एल। आर। आइ स्कूल, वडा १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ रहेको कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले जनाएको छ ।
यसैगरी २२ वडामा रहेको आरबी कम्प्लेक्स, २४ वडाको सुरज आर्केट, २९ वडाको शुभश्री कोअपरेटिभ लिमिटेड, २८ वडाको काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट, ३० वडाको गोपालजी प्रपर्टिज प्रा। लि। र स्टार मल रहेका छन । यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिने र, सो अवधीमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *