वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरेर सहायक कामदारका रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार माग भइ आएका एक हजार कामदारका लागि विभागले मंगलबार सूचना प्रकाशित गरि आवेदन आह्वान गरेको हो। माग भएका कामदार मध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने छन्।
गएको असाेजमा नेपाल र इजरायलबिच श्रम सम्झौता भएको थियो। सो सम्झौतासँगै नेपाली कामदारहरु नर्सिङ अर्थात स्याहार क्षेत्रमा जानका लागि मार्ग खुलेको थियो। सोही अनुरुप माग भइ आएका रोजगारका लागि विभागले आवेदन आह्वान गरेको हो।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा सहायक कामदारका रुपमा जान चाहने २५ देखि ४५ वर्षसम्मका नेपाली नागरिकले २१ दिन भित्र आफ्नो वेबसाइट मार्फत आवेदन दिन सक्ने विभागको सूचनामा उल्लेख छ।
कक्षा १० उत्तीर्ण गरि अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १० जोर दुई वा सो सरहको शैक्षिक योग्यता हाँसिल गरि सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा तीन महिनाको तालिमा लिएकाहरुले आवेदन दिन पाउने छन्।
विगतमा इजरायल गएर काम नगरेको वा बुवा, आमा, पति, पत्नि, छोरा, छोरी इजरायलमा बसोबास नगरेको या कार्यरत नरहेका व्यक्तिले मात्रै आवेदन दिन पाउने छन्।
कामदारहरुको छनौट प्रक्रिया नेपाल सरकार र इजरायलसँग भएको सम्झौता अनुसार हुने कामदारको अन्तिम छनौट इजरायलको पपुलेशन इमिग्रेशन एण्ड बोर्डर अथोरिटी (पिआइबिए) ले गर्ने सूचनामा उल्लेख छ।
छनौट भएर इजरायल जाने नेपाली कामदारले हप्ताको ६ दिन कुल ४२ घण्टा काम गर्नु पर्ने छ। अतिरिक्त समयको कामको इजरायली कानून अनुसार भुक्तानी हुनेछ।
नेपाली कामदारले महिनाको लगभग १६ सय अमेरिकी डलर (एक लाख ९० हजार) तलब पाउने छन्। सुरुमा एक वर्षको करारमा नेपाली कामदार जाने छन् र सो अवधि पाँच वर्षसम्म बढाउने सकिने छ।
कामदारलाई बसोबासको व्यवस्था रोजगारदाताले नै गर्ने छन्। आवेदन दिने व्यक्ति कम्तीमा १.५ मिटर उचाइ तथा ४५ किलो तौल भएको हुनु पर्ने उल्लेख छ। छनौट हुने कामदारले रोजगारीका लागि इजरायल जानका लागि हवाई भाडासहित कुल एक लाख ६५ हजार ७ सय रुपैयाँ (अनुमानित) लागत तिर्नु पर्ने छ।