स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा डा.जागेश्वर गौतमको सरुवा भएको र अन्य तीन जनाको सरुवा रोकिएको जनाएको छ । सोमबार (हिजो) स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा.गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए ।
डा.गौतमको सरुवासँगै डा.रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो, तर उनको सरुवा भने रोकिएको छ । डा गौमतसहित अन्य महाशाखाका प्रमुखको जिम्मेवारी हेरफेर गरिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
डा. गौतमबाहेक अन्यको सरुवा तत्कालका लागि रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिइएको थियो ।