प्रतिनिधि सभाको बैठकमा सांसदहरुले महाकाली नदीमा तुइन चढ्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी नदीमा वेपत्ता भएको विषयमा जवाफ मागेका छन् ।
मंगलबारको बैठकमा बोल्ने सबै दलका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडसँग घटनाको सत्य तथ्य के हो जस्ताको तस्तै सार्वजनिक गर्न माग गरे । सरकारले भारतसमक्ष आफ्ना नागरिकमाथि गरिएको अमानवीय घटनाको विरोधसमेत गर्न नसकेको भन्दै आपत्ति जनाए ।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरेर घटनाबारे प्रष्टीकरण लिनुपर्ने बताए । उनीहरुले घटनाको सत्य तथ्य छानबीनका लागि संसदीय समिति बनाउन पनि माग गरे ।
कर्मचारी तहको समिति गठन गरेर समस्याको समाधान नहुने भन्दै सत्ता र विपक्ष दुबैतर्फका सांसदहरुले कूटनीतिक र राजनीतिक वार्तामार्फत् समाधान खोज्न सुझाव पनि दिएका छन् ।