नागरिक एपको फुल भर्सन सार्वजनिक, यस्ता छन् फिचर

विज्ञान/प्रविधि

आइतबार सरकारले डिजिटल नेपालमा सबैभन्दा ठूलो परियोजनाका रुपमा दिएको नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ । 

आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरमा बेटा भर्सन ल्याएको झन्डै साढे तीन महिनापछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एपको फुल भर्सन सार्वजनिक गरिको हुन् । 

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिने उद्देश्यले गत माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरेको थियो । नागरिक एप सार्वजनिक भएको हप्तादिन नहुँदै ३ लाख भन्दा बढिले एप डाउनलोड गरिसकेका थिए । 

बेटा भर्सनमा रहेका समस्याहरुलाई समाधान गरेर एप सार्वजनिक गरेको मन्त्री गुरुङले बताएका छन् । चर्चासँगै डेटा सेक्युरिटीको बारेमा धेरैको चासो रहेको थियो । पूर्ण तयारीविना महत्वपूर्ण सूचना रहेको एप सार्वजनिक गरेको भनेर आलोचनासमेत भएको थियो । 

प्रायः प्रयोगकर्ताले एपमा खाता खोल्न नसकेको, एप क्र्यास हुने, प्रमाणीकरण गर्न नसकेको, शैक्षिक विवरण फेला नपरेको, स्मार्ट सीमबाट दर्ता हुन् नसकेको गुनासो गरेका थिए । 

परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको सरकारले सुरुमा यसमा ९ ओटा सेवाहरु समावेश गरेको थियो । 

पछि एपमा अन्य सेवाहरु थप गर्दें लैजाने सरकारको योजना थियो । हाल एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।

एपबाटै नयाँ प्यान नम्बर समेत लिन सकिने छ । अब सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ । 

के हो नागरिक एप ? 

विश्व नै डिजिटाइज भइरहेको बेला सरकारले पनि आफ्ना सेवाहरु डिजिटल रुपमा अनलाइनबाटै उपलब्ध गराउने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको हो । 

हरेक सरकारी सेवा लिन छुट्टा छुट्टै मोबाइल एप प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सबै सराकारी सेवाहरु एउटै एपबाट दिन सकियोस् भनेर सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो । 

राजश्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सरकारी कार्यालय जानै नपर्ने गरी सहज बनाउने छ । हरेक नेपालीले सहजै प्रयोग गर्न सक्ने गरी नागरिक एप तयार पारिएको सरकारको दावी छ ।

अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सक्ने डिजिटल विवरण छन् । जस्तै गृह मन्त्रालयसँग २ करोड भन्दा बढी नागरिकताको विवरण छ । औंठा छाप र फोटो सहितर १ करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । ६५ लाख भन्दा बढीको पासपोर्टको जानकारी राहदानी विभागसँग छ । 

यी तिनै स्थानमा रहेको विवरणलाई प्रयोग गरी नागरिक एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा यसमा राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना रहेको छ । 

सरकारी सेवा सुविधा लिदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न एपले स्वाचालित रुपमा आवश्यक विवरण लिने पुष्टि गर्ने काम गर्नेछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकेर हिड्नु पर्ने झन्झट एपले अन्त्य गरिदिने बताइएको छ ।  

उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सक्ने प्रकिया थाल्न सकिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा एपमै उपलब्ध हुने छन् । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

सरकारका विभिन्न निकायसँग भएका तपाईका प्रमाणीत विवरण एपले स्वाचालित रुपमा रुजु गर्छ । जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नहुने बताइएको छ । 

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् । यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पु¥याउने विश्वास रहेको छ ।

कत्तिको सुरक्षित छ नागरिक एप ? 

नागरिक एपमा अकाउन्ट बनाउन आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट मात्रै नागरिक एपमा अकाउन्ट बनाउन सकिन्छ । 

अकाउन्ट बनाउँदा राखेको मोबाइल नम्बरमा एक पटक मात्रै प्रयोग गर्न सकिने वन टाइम पासवर्ड (ओटीपी) कोड आउँछ । यदी उक्त ओटीपी कोड नराखेमा एपभित्र प्रवेश गर्न सकिदैंन ।  

उक्त ओटीपी कोड राखेपछि आफ्नो नागरिकता, पासपोर्ट वा मतदाता परिचयपत्रको विवरण राखेर एपभित्र प्रवेश गरी सेवा प्रयोग गर्न सकिन्छ । 

फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्तै नागरिक एपमा पनि ‘टु फ्याक्टर अथेन्टिकेसन’ सुविधा राखिएको छ । सरकारसँग भएका नागरिकका सबै विवरणहरु सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको डेटा सेन्टरमा सुरक्षित राखिएका छन् । 

राष्ट्रिय परिचयपत्र तयार भएपछि एपमा बायोमेट्रीक सुरक्षा प्रणाली समेत थपिने छ । तीन वटा पक्षबाट स्वतन्त्र रुपमा नागरिक एपको सेक्युरिटी टेस्टिङ समेत गरिएको छ । 

सरकारी निकायमा रहेका नागरिकका विवरणहरु एपमा भने रहने छैनन् । विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँछ । कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ ।

एपमा जतिसुकै सुरक्षाको व्यवस्था भएपनि आफूसँग भएको पीन कोड र व्यक्तिगत जानकारी आफैले सुरक्षित राख्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । सकेसम्म नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र जस्ता व्यक्तिगत विवरणहरु अरुलाई नदिन समेत मन्त्रालयले अनुरोध गरेको छ । 

आफूले प्रयोग गर्ने मोबाइल नम्बर अरुको नाममा छ भने आफ्नो नाममा नामसारी गर्दा राम्रो हुन्छ । आफ्नो सीममा आएको ओटीपी कोड अरू कसैलाई पनि दिनुहुदैन । आफले प्रयोग गर्ने सीम कसको नाममा छ भनेर चेक गर्ने सुविधा समेत टेलिकम कम्पनीले दिएका छन् ।

८९२२३ डायल गरी आफूले प्रयोग गर्ने नेपाल टेलिकमको सीम कसको नाममा छ भनेर चेक गर्न सकिन्छ । त्यस्तै ८९९६६३ डायल गरी आफूले प्रयोग गर्ने एनसेलको सीम कसको नाम छ भनेर चेक गर्न सकिन्छ ।  

कसरी प्रयोग गर्ने नगरिक एप ? 

नागरिक एप प्रयोग गर्न शुरुमा गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गरेपछि एप खोलेर भाषा छनौट गर्नुहोस् र अकाउन्ट बनाउन अगाडी बढ्नुहोस् ।  

अगाडी बढिसकेपछि आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस् अरुको मोबाइल नम्बरबाट यो एपमा अकाउन्ट बनाउन सकिदैन् । त्यसकारण आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र अगाडी बढ्नुहोस् । 

यति गरेपछि एपले भर्खरै तपाईले राखेको मोबाइल नम्बर साथमा छ की छैन् भन्ने यकिन गर्न एसएमएस मार्फत् ६ अंकको कोड पठाउँछ । उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः अगाडी बढ्नुहोस् । 

अब आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन परिचयपत्रबाट आफ्नो विवरण समेत दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि नागरिकता, राहदानी वा मतदाता परिचयपत्र मध्ये कुनै एक विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । 

उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडी बढ्नुहोस् ।

यदी तपाईले उल्लेख गरेको विवरण गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ र त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडी बढ्नुहोस् । 

यति गरेपछि नागरिक एपमा तपाईको दर्ता प्रक्रिय पुरा हुन्छ । अब एपमा पीन कोड राखेर एपमा उपलब्ध सेवा प्रयोग गर्न सकिन्छ । 

Leave a Reply

Your email address will not be published.