एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा खराब सुरुवात गरेको सनराइजर्स हैदराबादले नियमित कप्तान डेविड वार्नरलाई हटाउँदै केन विलियम्सनलाई जिम्मेवारी दिएको छ । आइतबार राजस्थान रोयल्ससँग खेल्नु अघि हैदराबादले शनिवार कप्तान परिवर्तन गरेको थियो ।

तीन पटकका ओरेन्ज क्याप विजेता वार्नर हैदराबादलाई आइपिएल उपाधि जिताउने एक्लो कप्तान हुन् । वार्नर लय समाउन संघर्षरत हुँदा टोली खराब नतिजाका साथ पुछारमा छ । प्लेअफमा स्थान बनाउन बाँकी खेलमा उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्नु पर्ने हुन्छ । वार्नरको प्रदर्शनसँगै कप्तानीमा पनि हैदराबाद सन्तुष्ट देखिदैन ।
वार्नरको कप्तानीमा हैदराबादले २०१६ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो । वार्नर २०१५, २०१७ र २०१९ का ओरेन्ज क्याप विजेता अर्थात सर्वाधिक रन बनाउने खेलाडी हुन् । विलियम्सनले पनि यसअघि हैदराबादको कप्तानी सम्हालिसकेका छन् । बल टेम्परिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर २०१८ मा १ वर्षे प्रतिबन्ध परेपछि त्यस सिजन २०१९ मा हैदराबादको कप्तानी विलियम्सनले गरेका थिए ।
विलियम्सनको कप्तानीमा २०१८ हैदराबाद फाइनलमा पुग्दै चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएको थियो । २०१९ मा प्लेअफमा दिल्ली क्यापिटल्ससँग पराजित हुँदै बाहिरिएको थियो । समग्रमा हैदराबादले प्रमुख हतियार डेविड वार्नरलाई कप्तानबाट हटाउनुको प्रमुख चार कारण यस प्रकार छन् ।

४. सुरुवाती खराब नतिजा
यस सिजनमा हैदराबादको सुरुवाती नतिजा खराब छ । हैदराबाद ६ खेलमा १ मा जित र ५ मा हार सहित २ अंकका साथ पुछारमा छ । प्लेअफ सम्म पुग्न हैदराबादलाई बाँकी ८ खेल मध्य ७ खेल जित्नुपर्ने दबाब छ । यो अवस्थामा हैदराबादले उत्कृष्ट प्रदर्शन गर्न कप्तान परिवर्तन गरेको छ । हैदराबादलाई बाँकी खेल जित्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।
वार्नरले ६ खेलमा १ सय ९३ रन बनाएका छन् । वार्नरले चेन्नईसँग ५५ बलमा ५७ रन बनाएका थिए । बेंगलोरसँग ३७ बलमा ५४ रन जोडेका थिए । यता केन विलियम्सन भने राम्रो लयमा देखिएका छन् । कप्तानलेनै खराब प्रदर्शन गर्दा अन्य खेलाडीलाई मनोबलमा असर पर्छ । त्यसैले हैदराबादले कप्तान परिवर्तन गरेको हुनसक्छ ।

यस सिजनमा वार्नरले कप्तानीमा आलोचना खेप्नुपरेको छ । दिल्लीसँग सुपर ओभरमा विलियम्सन र वार्नर ब्याटिङका लागि आएका थिए । विलियम्सनले महत्वपूर्ण ६६ रनको अविजित इनिङ खेल्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । तर वार्नर ६ रनमै आउन हुन पुगेका थिए । अर्का ओपनर जोनी बेयरस्टोले १८ बलमा ३ चौका र ४ छक्का सहित ३८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
उत्कृष्ट प्रदर्शन गरेका बेयरस्टोलाई नपठाएर आफू ब्याटिङमा आएको भन्दै वार्नरको कप्तानीको चर्को आलोचना खेप्नु परेको थियो । यतिमात्र होईन हैदराबादको व्यवस्थापन खेलाडी र प्लेइङ ११ मा परिवर्तनबाट खुसी छैन । मध्यक्रमका प्रमुख ब्याट्सम्यान मनिष पाण्डेलाई पन्जाब र दिल्लीसँगको खेलमा बेन्चमा राखिएको थियो । पाण्डे पहिलो खेलमा कोलकातासँग ६१, बेंगलोरसँग ३८ र मुम्बईसँग २ रनमा आउट भएका थिए ।
२. विलियम्सन उचित विकल्प
विलियम्सन वर्तमान समयका विश्वका एक उत्कृष्ट कप्तान मानिन्छन् । उनको कप्तानीमा कमजोर मानिएको न्युजिल्यान्डले २०१९ मा इंग्ल्यान्डमा एकदिवसिय विश्वकप फाइनल खेल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । इंग्ल्यान्ड र अष्ट्रेलियालाई पछि पार्दै विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्दै छ । कुनपनि टोली सफल हुन उत्कृष्ट खेलाडीनै हुनुपर्छ भन्ने हुँदैन । टोलीमा भएका खेलाडी सहि प्रयोग गर्न पनि सक्नुपर्छ । विलियम्सन टोलीमा रहेका खेलाडी भरपुर सदुपयोग गर्दै बलियो टोली उत्कृष्ट बनाउने गर्दछन् । उनी कमजोर टोलीलाई पनि उत्कृष्ट बनाउने क्षमता राख्छन् ।
अर्कोतर्फ खेलाडीको आत्माविश्वास बढाई राख्छन् । क्रिकेटका असली जेन्टलम्यान मानिने विलियम्सन जस्तो सुकै कठिन परिस्थितिमा पनि खेलाडीको मनोबल बढाइराख्छन् । वार्नर भन्दा विलियम्सन कप्तानी गुणमा धेरै अघि छन् । क्रिकेटमा प्रदर्शनसँगै कप्तानी पनि जितको लागि त्यतिनै उत्कृष्ट हुनुपर्छ । कठिन समयमा सहित खेलाडी प्रयोग गर्न नसके जितेको खेल पनि हार्नुपर्ने हुन्छ । विलियम्सन राम्रो लयमा पनि छन् । विलियम्सनको कप्तानी झनै उत्कृष्ट छ । जसले गर्दा पनि टोली परिवर्तन गरेको हुन सक्छ ।
१. वार्नरलाई विश्राम र रोयलाई खेलाउने रणनीति
हैदराबादले वार्नरलाई आगमी केहि खेलमा विश्राम दिँदै इंग्ल्यान्डका आक्रामक ओपनर जेसन रोयलाई प्लेइङ ११ मा खेलाउने सम्भावना बढी देखिन्छ । हैदराबादले आफ्नो प्रेस विज्ञप्तिमै राजस्थानविरुद्ध विदेशी खेलाडी परिवर्तन गर्ने स्पष्ट रुपमा बताएको छ । जुन वार्नरलाई बेन्चमा राख्दै रोयलाई खेलाउने संकेत देखिन्छ ।
इंग्ल्यान्डका ओपनर जेसन रोय पनि आक्रामक र ठूला सटको लागि परिचित खेलाडी छन् । अर्कोतर्फ जोनी बेयरस्टो र रोयलाई ओपनिङ गराउँदा ठूलो साझेदारी गर्न सक्छन् । इंग्ल्यान्डबाटसँगै ओपनिङ गर्ने यी दुई जोडि एक अर्कालाई राम्रोसँग बुझेका पनि छन् ।
गत मार्चमा भारतसँगको ओडिआई र टि२० सिरिजमा रोयले राम्रो प्रदर्शन गरेका थिए । हैदराबादले विदेशी खेलाडीमा परिवर्तन गर्ने भनि सकेको छ । बेयरस्टोले राम्रो सुरुवात दिँदै आएका छन् । राशिद खान अर्का प्रमुख हतियार हुन् । उनी पनि बेन्चमा बस्ने सम्भावना छैन । जसले गर्दा वार्नरलाई बेन्चमा राख्दै रोयलाई खेलाउने तयारी देखिन्छ ।