माधवकुमार नेपालले पार्टी एकताका लागि २४ गतेसम्मको समयसीमा दिए

देश

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि २४ गतेसम्मको डेडलाइन (समयसीमा) दिएका छन्।

आज बिहीबार बुद्धनगरस्थित क्वालिटी बैनक्वेटमा बसेको स्थायी र केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता नेपालले एमाले विवाद समाधान गरेर जान अन्तिमसम्म पनि प्रयास जारी राख्ने बताए।

‘हामी एमाले विवाद समाधान गर्दै पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छौँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पार्टी विवाद मिलाउने बेलामा अध्यक्ष केपी ओलीजीका केही वरिपरिका मान्छेहरुले भाँड्छन् र एकता हुन दिन्नन्।’

उनले २४ गतेसम्म कुर्ने र त्यसपछि सोच्नुपर्ने प्रष्ट पारेको ती केन्द्रीय सदस्यले दाबी गरे।

‘पार्टी एकताको लागि २४ गतेसम्म कुरौँ, एकता भए हुन्छ, नत्र सोच्नुपर्छ,’ नेता नेपालले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भनेको ती केन्द्रीय सदस्यको भनाइ छ।

आजको केन्द्रीय कमिटी बैठकपछि बोल्दै माधव पक्षीय नेता रघुजी पन्तले पार्टी एकताका लागि वार्ता जारी रहेको र केही सकारात्मक कुरा पनि भएको बताएका छन्। बैठकमा आज बोलेका १५ केन्द्रीय सदस्यमध्ये अधिकांशले एकतामै जोड दिएको बताइएको छ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोलि पनि जारी रहनेछन्। भोलि पनि केन्द्रीय सदस्यहरुले आफ्ना भनाइ राख्ने क्रमलाई निरन्तरता दिने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *