विद्युत् प्राधिकरणमा जिम्मेबारी सम्हाल्दै कुलमानले भने- व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकारेर आएको छु !

देश

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफू ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन्।

आज पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। ‘सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेको छ। मेरो व्यक्तिगत जीवनमा योभन्दा ठूलो चुनौती सायद अरु हुने छैन। यसलाई स्वीकारेर म दोस्रो इनिङ सम्हाल्न आएको छु,’ उनले भने।

यो चुनौतीलाई आफू एक्लैले भन्दा पनि सबैको साझा प्रयासबाट पार गर्नुपर्ने उनको भनाइ थियो। उनले प्राधिकरणमा आफूले कसैको आलोचना र टिका टिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए। सरकारको कार्ययोजनालाई साकार पार्न आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए।

बुधबार दिउँसो प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्। बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए।

उनलाई विद्युत प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङ झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका हुन्। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *