नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरे

खास खबर

नेपाल नागरिक उड्डयन प्राधिकरणका संगठित कर्मचारीहरुले आज महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन ।

चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढाउदै आएका उनीहरूले आफ्ना माग सम्बाेधन नभएको भन्दै आजदेखि तालाबन्दी गरेका हुन ।
सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको भन्दै प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरुले विधेयक तत्काल फिर्ता गर्न सरकारलाई भनिरहेका छन तर उनीहरुको मागमा सरकारले केही गरेको छैन ।

भर्खरै सुदृढ हुँदै गएको प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रुपान्तरण गर्दा स्वार्थ समूहको चलखेल तथा मुनाफाखोरी बढ्न सक्ने खतरा बढेकाले आन्दोलित हुनुपरेको संघर्ष समितिका प्रवक्ता एंवम मधेश तराई कर्मचारी युनियनका अध्यक्ष अनिल कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार विधेयक जे जस्तो अवस्थामा छ त्यही स्थगन गरी माग सम्बोधन नभएमा आन्दोलन चर्काउने तयारी छ । मंगलबार प्राधिकरण व्यवस्थापनसँग छलफल भए पनि छलफल निष्कर्ष बिहीन बनेको थियो ।

राष्ट्रको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाई सेवालाई महंगो बनाउने र आम नागरिकहरुलाई त्यसको भार पार्ने गरी योजनाबद्ध तबरले सरकारले नागरिक उड्डयन प्राधिकरण टुक्राउन विधेयक ल्याएको संगठनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *