जयसिंह धामी प्रकरणदेखि कुलमान नियुक्तीसम्मको विषय संसद्मा उठ्यो

खास खबर

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयीक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद अतहर कमाल मुसलमानले विगतमा ओली सरकारले बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाइृ लालपुर्जा वितरण गर्ने बताए।

‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो। बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको होइन। यदी लालपुर्जा बालुवाटार र भैसेपाटीसम्म पु¥याउने हो भने पुरानो सुकुम्बासी आयोग जिवित राखे हुन्छ। गरिब सुकुम्बासीलाई दिने हो भने नयाँ आयोग गठन गरेर नयाँ तरिकाले गर्नुपर्छ’ उनले भने।

सांसद आशाकुमारी बि.कले जनप्रतिनिधिको आर्थिक अवस्थामा दिन प्रतिदिन परिवर्तन हुन थालेको भन्दै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग गरिन्। ‘स्थानीय जनप्रतिनिधि, प्रदेश जनप्रतिनिधि र संघका जनप्रतिनिधिको सम्पति छानविन गरोस् भन्दै जोडदार माग गर्दछु’ उनले भनिन्।

सांसद उमा रेग्मीले असार लागेपछि मात्रै विकास निर्माणको काम गर्ने र बाढीले बगाउने गरेको भन्दै समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने बताइन्।

जेठ १५ मा बजेट घोषणा भएपछि चालु आर्थिक वर्षको काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनले बताइन्।

‘समयमा काम नगर्ने ठेकदारलाई पनि कारबाहीको व्यवस्था हुनुप¥यो । र जेठ १५ मा बजेट आइसकेपछि बन्द गर्नुप¥यो जेठ १५ भन्दा पछाडि। जेठ १५ सम्म जति काम भयो, भयो। नभएकोलाई बन्द गर्नुप¥यो, यो व्यवस्था हुनु¥यो’ उनले भनिन्।

सांसद कल्याणी कुमारी खड्काले रौतहटको श्रीराम सुगर मिलले ३०३ जना मजदुरलाई कानून बमोजिम तलब नदिएको भन्दै तलव दिलाउन सरकारसँग माग गरिन्। उनले भनिन्, ‘रौतहटको श्रीराम सुगर मिलले ३०३ मजदुरहरुलाई कानून बमोजिमको तलव सुविधा नदिएको। मजदुरहरुको तलव, भत्ता, सञ्चयकोष लगायत बाँकी रकम यथाशिघ्र दिलाउन सरकार सँग माग गर्दछु।’

सांसद कृष्णभक्त पोखरेलले नागरिकता सम्बन्धी विधेयक तत्काल ल्याउन माग गरे।

सांसद केदार सिग्देलले यही आर्थिक वर्षभित्र भूमिहिन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गरे।
सांसद खगराज अधिकारीले अफगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल भित्राउन सरकारसँग माग गरे। नेपालीलाई नेपाल नर्फकाएसम्म सरकारलाई काम गर्न नदिने पनि उहाँले चेतावनी दिए।

‘अफगानिस्तानमा नेपालीहरु आर्तनाद गरिरहेका छन्। ति नेपालीहरुलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन? निकम्मा सरकारले गर्न सक्छ कि सक्दैन, नेपालीको जिउ ज्यान जोगाउन सक्छ कि सक्दैन, तुरुन्त नेपालीहरुलाई अफगानिस्तानबाट रेस्क्यु गरेर ल्याउने काम प्रारम्भ गरोस्। होइन भने यो सरकार नालायक छ भनेर हामी यो संसदमा जोडदार माग गर्न चाहान्छौँ’ उनले भने।

सांसद खेम प्रसाद लोहनीले बुढीगण्डकी जलविद्युत आयोजको डुबान प्रभावितहरुलाई क्षतिपुर्ति दिन सरकारसँग माग गरे।
सांसद गजेन्द्र बहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गरे। सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गरे। डुबेका नेपाल एयरलाइन्स् लगायतका संस्थानतर्फपनि सरकारको ध्यानाकर्षण गराए।

‘पुरानो सरकारले हनुमान मात्रै देख्यो। नेपाल सरकारले कुलमान मात्रै देख्यो। एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने। यसको मतलव मैले कुलमानलाई हनुमान सँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले। पाँच महिनाको तलव एकैपटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन्’ उनले भने।

‘कुलमानले विद्युत प्राधिकरणलाई फाइदामै ल्याएका छन्। तर कुलमान बाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त? विद्युत प्राधिकरण मात्रै छ? कुलमान मात्रै छ? नेपाल एयरलाइन्स् छैन? अरु संस्थानहरु डुबेका छैनन्? खालि किन कुलमान मात्रै?’

सांसद गणेशकुमार पहाडीले वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको भन्न नसकेर समस्याको रुपमा उल्लेख गरेको भन्दै सरकारले कुटनीतिक पहल गर्न खुट्टा कमाएको बताए।

सांसद गणेश सिंह ठगुन्नाले दार्चुलामा महाकाली नदीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरणको प्रतिवेदन छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गरे।

सांसद गोपाल बहादुर बमले मुगुमा जिल्ला कारागार सञ्चालनमा ल्याउन माग गरे।

सांसद जीवनराम श्रेष्ठले मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि काठमाडौंमा खानेपानी समस्या भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *