कांग्रेसको १४औँ महाधिवेशनको मिति सार्ने प्रस्ताव केन्द्रीय समितिमा पेस

खास खबर

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशन सार्ने प्रस्ताव पेस भएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको सुझाव अनुसार कार्यतालिका निर्माण हुनेगरी भदौको महाधिवेशन सार्ने प्रस्ताव पेस गरेका हुन् ।

‘महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको सुझाव अनुसार नयाँ कार्यतालिका निर्माणको प्रस्ताव पेस गर्नुभएको छ । बैठकले सहमतिका आधारमा नयाँ कार्यतालिका निर्माण गर्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कांग्रेसको १४औँ महाधिवेशन १६-१९ भदाैका लागि तय गरिएको थियो । क्रियाशील सदस्यता र पार्टी समायोजन विवादका कारण साउनभित्र सम्पन्न गर्ने भनिएको वडा र क्षेत्रको अधिवेशन सम्पन्न हुन नसकेपछि केन्द्रीय महाधिवेशन प्रभावित बनेको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले आफ्ना समितिको कामबारे केन्द्रीय सदस्‍यहरूलाई ब्रिफिङ गरेका थिए । बैठकमा राष्ट्रिय राजनीतिबारे पनि छलफल भइरहेको प्रवक्‍ता शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *